छ महिनापछि आन्तरिक उडान सुरु

५ आश्विन, काठमाडौं ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ ।

Advertisement

बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो ।

एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइने बताएका छन् ।

Advertisement

उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् ।

कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो ।

Advertisement

पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ । पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चालमा आएका छन् । आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी सुरक्षित हवाई उडानका लागि सबैखाले प्रयत्न गरिएको बताए ।

उनका अनुसार अहिले सबै वायुसेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित हवाईयात्राको प्रक्रिया पूरा गरेका छन् । विमानस्थलका उच्च अधिकारी आन्तरिक उडानको शुरुआती उडानको निरीक्षणका लागि बिहानै विमानस्थलमा पुगेका छन् ।

“आन्तरिक उडान शुरु हुने दिन आज बिहानै विमानस्थल आएका छौँ, आन्तरिक उडानका वायुसेवा कम्पनीले सुरक्षित उडानका लागि कसरी काम गरिरहेका छन् भनेर निरीक्षणमा छौँ, उनीहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथ यात्रुलाई टर्मिनलदेखि जहाजसम्म पुर्याएको देखिन्छ, यसले सुरक्षाको सुनिश्चितता पनि बढ्छ”, महाप्रबन्धक केसीले भने ।

सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्याएर सेवा सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ । अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने महाप्रबन्धक केसीले बताए ।

सामान्य अवस्थामा आन्तरिकतर्फ जहाजको आगमन र प्रस्थान दुवै गरी दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

आन्तरिक उडान शुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन् । आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । बिहान ८ः०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ ।

यो उडानमा प्राधिकरणका उच्च अधिकारी, वायुसेवा सञ्चालक सङ्घका पदाधिकारीलगायत पनि पोखरा गएका छन् । बुद्धले काठमाडौँबाट विभिन्न गन्तव्यमा आज १८ उडान गर्दैछ । कम्पनीले राजविराजवाहेक सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ । यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो ।(गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top