उद्धार कुर्दै ८४ हजार नेपाली

काठमाडौँ  : मलेसिया र खाडी मुलुकमा करार अवधि समाप्त भएर घर फर्किने प्रतीक्षामा अझै ८४ हजार नेपाली रहेका छन् । हालकै अनुसार उडानको प्रबन्ध भएमा उनीहरूलाई स्वदेश आइपुग्न अझै तीन महिना लाग्नेछ ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कोरोना महामारीका कारण एक लाख ३३ हजार चार सय ८५ जनाले स्वदेश फर्कनका लागि निवेदन दिएका थिए । जसमध्ये हालसम्म ४८ हजार ८ सय ६५ जना मात्रै फर्किएका छन् । समयमा नै उद्धार हुन नसकेपछि स्वदेश फिर्नेको संख्या दैनिक थपिँदै गएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई घर फर्काउन यथोचित प्रबन्ध मिलाउन नसकेको ठहर गरेको छ । ‘विदेशमा रहेका नेपालीलाई कति दिनभित्र ल्याउने भन्ने योजना सरकारसँग भएन । उनीहरू कहिलेसम्म यसरी पर्खेर बस्ने हो ?,’ आयोगका सदस्य सुदीप पाठकले भने । आयोगले सरकारलाई पूर्ण विवरणसहितको उडान तालिका पेस गर्न भनेको छ । ‘कतिवटा उडान भएमा अहिले प्रतीक्षामा रहेका नेपाली स्वदेश आइपुग्छन्, यसको पनि विवरण मागेका छौं,’ उनले भने, ‘जति ढिलो भयो, त्यति नै जोखिम बढ्छ ।’

Advertisement

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ आएका यात्रुलाई मात्रै ल्याउने नीति लिए पनि हाल दैनिक १२ देखि १५ सय जना मात्रै आइरहेका छन् । त्यो पनि खाडी तथा मलेसियाबाट मात्रै होइन । पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरूलाई नेपाल फर्किएपछि क्वारेन्टाइनमा नराखी सिधै होम क्वारेन्टाइनमा पठाइएको छ । विदेशस्थित दूतावास र कम्पनीको क्याम्पमा रहेका कामदारहरूले सरकारविरुद्ध नाराबाजी गरेपछि यसअघि लागू गरिएको दैनिक ५ सय जनालाई मात्रै विदेशबाट ल्याउने व्यवस्था हटाइएको थियो ।

खाडी तथा मलेसियास्थित राजदूतहरूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसमक्ष उडानको संख्या थप्न सरकारलाई पहल गरिदिन आग्रह गरेका थिए ।

Advertisement

सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई) मा स्वदेश फिर्नका लागि ४८ हजार जनाले दूतावासमा नाम दर्ता गराएका छन् । यूएईबाट हालसम्म २० हजार ६ सय ५७ जना स्वदेश फिरेका छन् । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार जनाभन्दा बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजार जनालाई मात्रै पठाउन सकिएको बताए । ‘हामी अहिले गैंडाको छाला ओढेर कुर्सीमा बसिरहेका छौं । घर पठाउन नसकिएपछि श्रमिकहरू दूतावासविरुद्ध विरोधमै उत्रिएका छन् । निःशुल्क र शुल्क जे भए पनि उडान चाहिन्छ,’ उनले भने ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top