११ असोज, एजेन्सी । भारतको भ्याक्सिन उद्योगले कोरोना भाइरसविरूद्धको लडाईंमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ’सम्पूर्ण मानवतालाई सहयोग’ गर्ने बताएका छन् ।
संयूक्त राष्ट्र संघको वार्षिक महासभालाई शनिबार सम्बोधन गर्दै मोदीले भारतको विशाल खोप उत्पादन उद्योगले कोरोना महामारीविरूद्धको लडाईंमा विश्वको सेवा गर्ने जनाएका हुन्।
मोदीको यो प्रतिज्ञाले कोरोनाका कारण भर्चुअलरूपमा भइरहेको महासभा बैठकमा भ्याक्सिनको सर्वसुलभ उपलब्धतालाई लिएर पटकपटक उठेको चिन्तालाई छोएको छ।
खोप निर्माणपछि कम र अतिकम विकसित राष्ट्रका नागरिकको पहुँचमा खोप नपुग्ने र विकसित र धनी राष्ट्रले मात्र खोपमा पहुँच पाउने विषयमा चिन्ता व्यक्त भएकोमा विश्वको सर्वाधिक ठूलो खोप उत्पादक राष्ट्र भारतका प्रधानमन्त्री मोदीको यो सम्बोधन महत्वपूर्ण मानिएको छ।
बितेका सातामा राष्ट्रसंघ महासभामा पोप फ्रान्सिस लगायतका वक्ताहरूले खोप किन्नसक्नेहरूकोमा मात्र जानसक्नेमा चासो व्यक्त गरेका थिए।
मोदीको यो भनाइ देशभित्रै आफ्ना नागरिकलाई सरकारले कसरी खोप पुर्याउँछ भनेर प्रश्न उठिरहेका बेला आएको हो ।
महासभामा मोदीको सम्बोधन प्रसारण हुनुअगाडि भारतको सबैभन्दा ठूलो खोप उत्पादक अदार पूनावालाले खोप अभियानका लागि भारतको स्वास्थ्य मन्त्रालयलाई आगामी वर्ष करिब १ विलियन अमेरिकी डलर आवश्यक पर्नसक्ने बताएका थिए।
भारत चीनपछि सर्वाधिक धेरै जनसंख्या भएको मुलुक हो । भारतमा हालसम्म झण्डै ५९ लाख मानिसलाई कोरोनाको संक्रमण भइसकेको छ । भारत विश्वमा अमेरिकापछि सर्वाधिक धेरै संक्रमित भएको मुलुक हो ।
आफ्नो राष्ट्रसंघको सम्बोधनमा मोदीले भारतको कोरोना खोप परीक्षण तेश्रो चरणमा रहेको जानकारी दिदैं व्यापकस्तरमा जारी रहेको परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको आशा देखाइरहेको बताए।
सम्बोधनमा उनले आफ्नो मुलुकले स्वीकृत खोपहरूको वितरणका लागि अन्य देशहरूलाई भण्डारण क्षमता सुदृढीकरण गर्न सहयोग पु¥याउने पनि जनाए।
विश्वमा हाल ४२ वटा खोपहरूको परीक्षण चलिरहेको छ जसमध्ये कम्तीमा चार वटा परीक्षण आफ्नो अन्तिम चरणमा रहेको ठानिएको छ।