१३ असोज, काठमाडौँ ।
सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।
सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताए । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उनले बताए ।
सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्यबृद्धि भइरहेको बताए । मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताए । अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताए ।
सांसद सुजाता परियारले पनि दिनदिनै मूल्य बृद्धि भइरहेको बताइन् । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताइन् ।
समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।