काठमाडौँ : अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । उनी ६ बुँदे माग राखेर १७ दिनदेखि अनशनरत छन् । उपचारमा संलग्न मेडिकल टिमद्वारा जारी पछिल्लो स्वास्थ्य बुलेटिनअनुसार उनलाई धड्कन गडबड, छाती दुखाइ, थकाइ, चक्कर आउनेलगायतका समस्या देखिएको छ ।
डा. केसीको रगतमा ग्लुकोजको मात्रा धेरै कम छ भने ‘सिरम इलेक्ट्रोलाइट्स’ समेत गम्भीर रूपमा घटेको छ । रगतमा सेतो रक्त कणिकाको संख्या कम भएकाले संक्रामक रोगको जोखिम उच्च छ । जुम्लामा १९ औं सत्याग्रह थालेका डा. केसी ८ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।
नेपाल चिकित्सक संघले अनशनरत डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । संघले वार्ताका लागि सहजीकरण गर्न तयार रहेको जनाउँदै सरकारसँग वार्ता टोली गठन गर्न पनि माग गरेको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।