Nepal Times
Nepal Times
3
Shares

बजेटमा बढाईएको अन्तशुल्क घटेपछि व्यवसायी खुशी

बजेटमा बढाईएको अन्तशुल्क घटेपछि व्यवसायी खुशी

१६ असोज, काठमाडौँ ।
करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् ।

सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ । खासगरी विद्युतिय सवारी साधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरी अन्तशुल्क घटाउने निर्णय गरेपछि अटो मोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारी साधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य भएको बताए । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उनले बताए । सवारी साधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह समेत गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताए । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उनको भनाई छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु विक्रीगर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताए ।

व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भए पनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझै पनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको पनि व्यवासयीहरुको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.