वाटसन र डु प्लेसिसले कीर्तिमानी साझेदारी गर्दा चेन्नई १० विकेटले विजयी

वाटसन र डु प्लेसिसले कीर्तिमानी साझेदारी गर्दा चेन्नई १० विकेटले विजयी

१९ असोज, एजेन्सी ।
ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी उत्कृष्ट साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।

आईतबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईका लागि दुबै ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले उत्कृष्ट प्रर्दशन गर्दै १७.४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरे । सुरुवाती तीन खेल हारेका चेन्नईका ओपनर पन्जाबबिरुद्ध भने सुरुवात देखिनै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

शेन वाटसन ५३ बलमा ११ चौका र ३ छक्का सहित ८३ रनमा अविजित रहे । फाफ डु प्लेसिस ५३ बलमा ११ चौका र १ छक्का सहित ८७ रनमा अविजित रहे । कुल १ सय ८१ रनको अविजित साझेदारी गरेका थिए । यो चेन्नईका कुनैपनि ब्याट्सम्यानले कुनैपनि विकेटका लागि गरेको सर्वाधिक उच्च साझेदारी हो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुल (केएल) ले ५२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । पन्जाबलाई ओपनर राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

यी दुईबीचको साझेदारी नवौं ओभरको पहिलो बलमा स्पिनर पियुष चवलाले अग्रवाललाई २६ रनमा साम करनबाट क्याच आउट गराउँदै तोडे । ठूलो सट खेलेका अग्रवाल डिपमिड विकेटमा समातिन पुगेका थिए । उनले १९ बलमा ३ चौका प्रहार गरे । रविन्द्र जडेजाको १२ औं ओभरको अन्तिम बलमा एक्स्ट्रा कभरमा मनदीप सिंह आम्बाती रायुडुबाट २७ रनमा क्याच आउट हुन पुगे । सिंहले १६ बलमा २ छक्का प्रहार गरे ।

तल्लोक्रममा निकोलस पूरनले आक्रामक ब्याटिङ गर्दै पन्जाबलाई विशाल योगफलको बाटोतर्फ अघि बढाएका थिए । तर शार्दुल ठाकुरको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका पूरनको सट निकै हाइमा गएपछि डिपमिड विकेटमा रविन्द्र जडेजाबाट ३३ रनमा समातिन पुगे । पुरनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगतै अर्को बलमा राहुललाई महेन्द्रसिंह धोनीबाट उत्कृष्ट क्याच गराउँद ठूलो इनिङ खेल्न बाट रोकेका थिए । ग्लेन म्याक्सवेल ११ र शरफराज खान १३ रनमा अविजित रहे ।

रविन्द्र जडेजाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । पियुष चवलाले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

यो चेन्नईको दोस्रो जित हो भने पन्जाबको चौथो हार हो । पन्जाबले अब हैदराबादसँग बिहिबार खेल्ने छ । चेन्नईले अव बुधबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलको इतिहासमा चेन्नईले १० विकेटले जित निकालेको दोस्रो अवसर हो । यसअघि सन् २०१३ मा पन्जाबले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य १६ बल आगडि कुनै विकेट नगुमाई पूरा गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.