Nepal Times
Nepal Times
3
Shares

रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने

रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने

१९ आश्विन, काठमाडौं ।
लामो समयदेखि भारत र चीनमा रोकिएका रसुवागढी जलविद्युत् आयोजनाका व्यवस्थापक तथा कामदार आउने बाटो खुलेको छ ।

रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चार जना भारतीय व्यवस्थापक र १३ जना चिनियाँ कामदारको विवरण उर्जा मन्त्रालयले स्वीकृत गरेसँगै उनीहरू आउने बाटो खुलेको हो ।

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाका व्यवस्थापक आउन नपाउँदा काम ठप्प भएको थियो । इलेक्ट्रोमेकानिकल निर्माणको लागि आवश्यक पर्ने सामग्री आएको भए पनि व्यवस्थापक तथा कामदार नहुँदा काम अघि बढ्न सकेको थिएन ।

व्यवस्थापक आएपछि त्यसका लागि छुट्टै कामदार आउने छन् । समयमा नै विवरण स्वीकृत नहुँदा आयोजनाको इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणको काम ठप्प भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

आयोजनामा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका कामदार नहुँदा गएको चैत ८ गतेदेखि निर्माण कार्य ठप्प भएको हो । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले गएको चैत ८ गतेदेखि नै काम रोकेको थियो ।

नेपालमा भन्दा पहिले भारतमा लकडाउन भएको र नेपालमा पनि हुने सम्भावना रहेपछि भारतीय टोली चैत ८ गते नै आफ्नो देश फर्किएको थियो । अहिले भोइठ हाइड्रो इन्डियाले ३२ जना भारतीय र ३८ जना नेपालीको सूची आयोजनालाई बुझाएको छ ।

आयोजनाले गएको साउन अन्तिममा भारतीय चार जनाको सूची ऊर्जा मन्त्रालयमा पठाएको थियो । आयोजनामा अहिले सिभिलतर्फ ३ सय ७९ नेपाली र ८८ जना चिनियाँ कामदार रहेका छन् ।

लकडाउनको समयमा पनि आयोजनामा ७ सय नेपाली र १ सय ७६ चिनियाँ कामदार रहेका थिए । २०७० साल माघदेखि निर्माण भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.