२० आश्विन, काठमाडौं ।
काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको बताएको छ ।
दूतावासले भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने खालको भएको उल्लेख गरेको छ । कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको उल्लेख छ ।
तर उसले त्यो नीति के हो भन्ने सम्बन्धमा भने केही पनि खुलाएको छैन । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।
उक्त घोषणाको आधारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सीएनबीसी, रोयटर्स, साउथ चाइना मर्निङ पोस्ट आदिले समाचर लेखेका छन् । यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो ।
यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।
सो आधिकारिक डकुमेन्टको आधारमा अन्तर्राष्ट्रिय समाचार माध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । दूतावासले नेपालको बहुदलीय प्रजातन्त्रलाई सम्मान गर्ने, नेपालको निर्वाचित सरकारसँग निरन्तर सहकार्य गर्ने बताएको छ ।
उसले ७३ वर्षदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दृढ रहेको पनि उल्लेख गरेको छ । अमेरिकी दूतावासले नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरुलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत भएको पनि उल्लेख गरेको छ ।