सिन्धुपाल्चोक : व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ।
नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एक पक्षीय रुपमा नाका बन्द गरेको हो। कुनै पनि सामाग्री मंगलबार नाकामा आएनन्। बाढीपहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो। सीमामा कोरोना संक्रमण रोक्ने शर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो।
सामाग्री ढुवानी र लोड/अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिएपछि चिनियाँ अधिकारीले तत्काल सामाग्री पठाउन नसकिने जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘दुबै भन्सार प्रशासनबीच सुरक्षित ढंगले कसरी नाका नियमित सञ्चालनमा ल्याउन सकिन्छ भनेर नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ,’ उनले नागरिकसँग भने, ‘त्यो मोडालिटी नबनेसम्म अझै केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन।’
नेपालीको चाडबाड मौसम सुरु भएकाले नाका लामो समय भने बन्द रहन नसक्ने प्रमुख खत्रीले दाबी गरे। उनका अनुसार पछिल्लो पटक तीन नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले हठात् सामाग्री पठाउन रोकेको हो।,याे समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन्।