२२ आश्विन, एजेन्सी ।
जर्मनीमा कोभिड– १९ को दोस्रो लहर सुरु भएको छ ।
यसअघि फ्रान्स, स्पेनमा कोरोनाको दास्रो लहर देखिएको थियो । कोरोनाको पहिलो चरण नियन्त्रणमा ल्याएसँगै जर्मनीले लकडाउन खुकुलो पारेको थियो । जर्मन नागरिक सामान्य जीवनमा फर्कन थालिसकेका थिए ।
तर, दोस्रो लहर सुरु भएपछि जर्मनीमा रात्रिकालीन गतिविधिलाई रोक लगाइएको छ । लकडाउन खुलेसँगै जर्मन नागरिकले रात्रिकालीन गतिविधि बढाएपछि कोरोना नियन्त्रणबाहिर गएको सरकारको ठहर छ । यही कारण सरकारले रात्रिकालीन जीवन रोक्न कर्फ्यू लगाएको छ ।
जर्मनीमा यसरी रातको समयमा कर्फ्यु लगाएको ७० वर्षपछि पहिलोपटक हो । जर्मनीको राजधानी बर्लिनमा सरकारले निकै कडा नियम लागू गरेको छ । यहाँ रातमा कडा रूपमा कफ्र्यु जारी गरेको छ । बर्लिन युरोपको व्यस्त रात्रिकालीन जीवन बिताउने सहरमध्ये पर्छ ।
प्रशासनले अहिले रातको ११ देखि बिहान ६ बजेसम्म बर्लिनलगायत ठूला सहरमा रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्युको समयमा सरकारको नियम तोडेमा तत्कालै उनीहरूको लाइसेन्स रद्द हुनेछ । साथै उनीहरूले ठूलो रकम जरिवाना तिर्नुपर्छ ।
पुनः लाइरेन्स प्राप्तिका लागि सुरुदेखि नै प्रक्रियामा जानु पर्नेछ । बर्लिनमा प्रत्येक दिन अहिले औसतमा ४५ जनामा कोरोना संक्रमण देखिइरहेको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले दोस्रो चरण कोरोना नियन्त्रण गर्न पहिलेभन्दा कडा नियम लागू गरेको जनाएको छ ।
प्रत्येक दिनजसो हुने पार्टी वा महोत्सवमा हुलमुल नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ । नियम कडा भए पनि एक स्थानमा पाँचजनासम्म बस्न सकिने अवस्था छ ।