लोप हुँदैछ बादी समुदायको मादल बनाउने र माछा मार्ने पुर्ख्यौली पेसा 

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, तुलसीपुर ।
मादल बनाउने बादी समुदायको पुर्ख्यौली पेसा अहिले लोप हुने अवस्थामा छ ।

Advertisement

पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले बादी समुदायले मादल बनाउनसमेत बिर्सिन थालेको दाङ तुलसीपुर ४, वायखोलाका गेहेन्द्र बादीले बताए । “मादल बनाउने हाम्रो पुर्ख्यौली पेसा हो, तर हामीले यो पेसा भुल्न थालिसक्यौं,” उनले भने ।

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर बादी बताउँछन् । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्‍ने र नाच्‍ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ ।

Advertisement

“अहिले नाच्‍न-गाउन, पेन ड्राइभजस्ता आधुनिक उपकरण प्रयोग हुन्छ,” उनले भने, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुने भएकाले पेसा सङ्‍कटमा छ ।”

घरमै आएर माग गरेपछि मादल बनाउने गरे पनि व्यावसायिक रुपमा मादल बनाउन छाडेको उनको भनाइ छ ।

Advertisement

माछा मार्ने पेसा पनि धरापमा

बादी समुदायको अर्को पेसा भनेको माछा मार्ने पेसा पनि हो । यो पनि धरापमा परेको गेहेन्द्रको गुनासो छ । “मादल पनि बिक्न छाडेपछि हामीले माछा मार्ने पेसालाई जोड दिएका थियौं,” उनले भने, “तर, अहिले यो पेसा पनि धरापमा छ ।”

नदी तथा खोलाहरुमा करेन्ट लगाएर, विष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफूहरुको यो पेसा पनि सङ्‍कटमा परेको उनको भनाइ छ । जाल, बल्छीको प्रयोग गरेर माछा मार्ने गरे पनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ ।

पाँच वर्षपहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका बादी समुदायले अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका ७, नयाँबस्तीका धनराज बादीले गुनासो गरे ।

मादल बनाउने र माछा मारेर दुवै पेसा धरापमा परेपछि अहिले बादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ । “विगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ,” उनले भने, “तर, पछिल्लो समय यी दुवै पेसाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन ।”

यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । दाङमा चार हजार बढी बादी समुदायको बसोबास छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top