२३ कात्तिक, नयाँ दिल्ली ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण घटेको छ । कुनै समय विश्वमै सबैभन्दा बढी संक्रमण हुने गरेको भारतमा विगत केही हप्तादेखि संक्रमण घट्दै गएको छ ।
भारतमा बितेको २४ घन्टामा ४६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो महिनासम्म भारतमा झण्डै दैनिक १ लाखको हाराहारीमा दैनिक संक्रमित थपिने गरेका थिए । भारतमा हालसम्म संक्रमित हुनेको संख्या ८५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १ लाख २६ हजारभन्दा बढी छ ।
संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकमा भने कोरोना संक्रमण व्यापक रुपमा बढेको छ । विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा एकै दिनमा १ लाख १९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको छ भने मृत्यु हुनेको संख्या २ लाख ४३ हजारभन्दा बढी छ ।
युरोपेली मुलुक मध्ये फ्रान्समा सबैंभन्दा संक्रमित भेटिएका छन् । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ८७ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । यो संख्या कोराना भाइरसको महामारी शुरुभएयताकै सबैभन्दा बढी हो । बेलायत, इटाली, पोल्याण्ड र जर्मनी लगायतका मुलुकमा पनि दैनिक संक्रमण उच्च रहेको छ ।