×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिकारी सक्रिय, निकुञ्ज निष्क्रिय, चार महिनामा १४ गैंडा मृत

२८ कार्तिक २०७७

कोरोना महामारीमा दुर्लभ वन्यजन्तुको चोरीसिकार बढ्न सक्ने आकलन सत्य सावित भएको छ । गत भदौमा चितवन राष्ट्रिय निकुञ्जभित्र गोली चलेको आवाज सुनिए पनि तस्करले त्यसभन्दा पहिल्यैदेखि निकुञ्ज छिरेर गैंडा मारेको देखिएको छ ।

कोरोना महामारी बढेपछि भएको लकडाउनसँगै तस्कर सक्रिय भएर निकुञ्जभित्र सिकारी परिचालन गरेको खुले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

भदौ १६ मा निकुञ्जको पश्चिम क्षेत्रमा गोली चलेको आवाज सुनियो । खोज्दै जाँदा पाँच दिनपछि गोली लागेर मरेको एउटा गैंडा भेटियो । त्यही क्षेत्रमा हालसालै खागविहीन तीनवटा गैंडा मृत भेटिए । यो आर्थिक वर्षको साउनयता निकुञ्जमा १४ वटा मृत गैंडा फेला परेका छन्, जसमध्ये चारवटालाई सिकारीले गोली हानेर मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । ‘कात्तिक २१ मा एउटा खागविहीन मृत गैंडाको कंकाल भेटियो, निकुञ्जको पश्चिम क्षेत्र भुसहरघाट नजिक भेटिएको उक्त गैंडालाई करिब ५–६ महिनाअघि नै मारेर खाग लगेको देखिन्छ,’ उनले भने ।

लकडाउनको सुरुवाती अवस्था वैशाख–जेठतिर नै तस्करले उक्त गैंडा मारेको अनुमान छ तर निकुञ्जले कुनै सुइँको पाएन । गैंडा सडे–गलेर झन्डै विलीन हुने अवस्थामा पुगेपछि मात्रै भेटिएको थियो । भदौ १६ मा गोली चलेको आवाज सुनेपछि मात्रै निकुञ्जको सक्रियता बढेको हो तर त्यो बेला मरेका गैंडा पनि बल्ल भेटिन थालेका छन् ।

निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानी पोस्टनजिक बाँदरझुला टापुमा गोलीको आवाज आएपछि निकुञ्जले खोजी सुरु गरेको थियो । सेना र प्रशासनले पाँच दिन खोजेपछि भदौ २१ मा टाउकामा गोली लागेर मरेको गैंडा फेला पारेका थिए तर खाग भने सुरक्षित नै थियो ।

उक्त क्षेत्रनजिक पर्ने नारायणी नदीको टापु मर्दी घोलमा कात्तिक १९ मा गैंडाका माउबच्चा मृत भेटिए । माउ २०/२५ वर्षको र बच्चा लगभग तीन वर्षजतिको थियो । दुवै गैंडाको खाग थिएन । टाउकामा गोलीको घाउ थियो । त्यसैले उनीहरूलाई तस्करले नै मारेको पक्का भयो । ती माउबच्चालाई दुई महिनाअघि मारिएको अनुमान छ अर्थात् भदौ १६ मा गोली चलेकै बेला उनीहरू मारिएका हुन सक्छन् ।

भदौ २१ देखि कात्तिक २१ सम्म तस्करले मारेका चारवटा गैंडा भेटिए तर यी घटनामा संलग्न अहिलेसम्म कोही फेला परेका छैनन् । चितवन निकुञ्जको आधिकारिक विवरणहरूलाई आधार मान्दा २०७३ चैत २६ यता चोरीसिकारीले गैंडा मारेका थिएनन् । लगभग साढे तीन वर्षपछि गैंडा चोरीसिकार सुरु हुँदा निकुञ्जले घटनामा संलग्नको भेउ पाउन सकेको छैन । तस्करहरू सक्रिय मात्रै होइन, निस्फिक्री देखिएका छन् ।

चारवटा गैंडा मार्ने एउटै समूह थियो वा फरक भन्ने निक्र्योल पनि हुन सकेको छैन । ‘कात्तिक २१ मा भेटिएको गैंडा निकै पहिल्यै मारेको हुँदा भदौको घटनामा त्यो समूह संलग्न नरहेको हुन सक्छ । बरु भदौ २१ मा मृत भेटिएको र कात्तिक १९ मा मृत भेटिएका माउबच्चा मार्ने एउटै समूह हुन सक्छ,’ प्रमुख संरक्षण अधिकृत बरालले भने । उनका अनुसार मृत गैंडाको शरीरमा गोलीको चोट देखिए पनि गोली भेटिएन । यसले गर्दा संलग्न व्यक्ति पत्ता लगाउन गाह्रो भएको छ ।

चितवन निकुञ्जमा कार्यरत रहँदा चोरीसिकारविरुद्ध सक्रिय रहेका अवकाशप्राप्त पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर गैंडा सिकारमा तीनवटा समूह सक्रिय हुने गरेको बताउँछन् । ती तीनवटै समूहले फरक–फरकखाले हतियार प्रयोग गर्छन् । गोली भेटिएको भए कुन हतियार प्रयोग भयो भन्ने खुल्ने र समूहको पहिचान गर्न सजिलो हुने कुँवरले बताए । गोली नै नभेटिँदा निकुञ्ज प्रशासन रनभुल्ल छ ।

कुँवरका अनुसार निकुञ्जको पश्चिम क्षेत्रमा हरेक खाले संकटको समयमा तस्कर र सिकारी सक्रिय हुन्छन् । भारतबाट समेत त्यता आएर गैंडा मारेर खाग लैजाने गरेको भेटिएको छ । भारतीयहरूले त्यो क्षेत्रमा गैंडा मार्दा निकुञ्ज बेखबर रहने गरेको यसअघि पनि देखिएको थियो । चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा २०७५ मंसिर ११ मा दुई जनालाई सजाय सुनायो । त्यो बेला भारत बिहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद तोकिएको थियो ।

त्यसैगरी, चितवन माडीका रामा महतोलाई पाँच लाख रुपैयाँ जरिवाना भयो । २०७३ जेठमा गैंडा मारेको मुद्दामा उनीहरूलाई यो सजाय भएको हो तर चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणमा यो मितिमा गैंडा मरेको देखिँदैन । यो क्षेत्रमा तस्करले गैंडा मार्दा निकुञ्जले सुइँको समेत नपाउने अवस्था छ । छठु निकुञ्जभित्र समातिएका थिए । त्यो बेला मारेको गैंडा देखाउन उनी आफैं गएका थिए ।

‘अहिले पनि खोजबिन गर्दै जाँदा धमाधम मरेका गैंडा भेटिएका हुन्, तस्करले मारेका गैंडाको पुराना कंकाल पनि भेटिए,’ बरालले भने, ‘समयमै खोजबिन नगरेको भए सबै अंग पचेको अवस्थामा कुनै बेला भेटिन्थे होला अनि के–केसरी मर्‍यो, खाग थियो कि थिएन खुल्दैनथ्यो । तस्करहरू हरसमय मौकाको प्रतीक्षामा हुन्छन् । लकडाउनले उनीहरूलाई सजिलो भयो होला । भदौमा वर्षा धेरै भएर पोस्टबाट सुरक्षाकर्मीहरू नदीवारि आएका बेलामा तस्करहरूले मौका छोपेको देखिन्छ ।’

गैंडा मारेको अपराधमा पक्राउ परेका धेरै व्यक्ति अहिले धमाधम छुटेका छन् । उनीहरू सजाय पूरा गरेर छुटेका हुन् । वैशाखयता मात्रै त्यस्ता ३० जना छुटेको उनले जानकारी दिए ।

चितवनमा २०५८ मंसिरपछि गैंडा चोरीसिकार निकै मौलायो । त्यो बेला वर्षमा ३८ वटासम्म गैंडा चोरीसिकारीहरूले मारे । ती घटनामा संलग्न २०६० पछि धमाधम समातिए । गैंडा मारे वा यसको अंगको कारोबार गरे १५ वर्ष कैदका साथै १० लाख रुपैयाँसम्म जरिवाना हुन्छ । त्यो बेला समातिएकाहरू अहिले सजाय पूरा गरेर छुटेका छन् । तीमध्ये केही फेरि सिकारमा लागे कि भन्ने शंका निकुञ्जलाई छ तर भरपर्दो प्रमाण र आधार नजुटेको बराल बताउँछन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top