नेकपामा अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैनः बाँस्कोटा

९ मंसिर ७७, बुधबार

१० मंसिर, काभ्रे ।
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् ।

Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए ।

Advertisement

नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उनले भन, “नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले दुई वर्षपछि मात्रै विचार गर्नू ।”

प्रतिपक्षी पार्टीमा पनि विवाद भइरहेकाले लोकतन्त्रमा पार्टीभित्र पनि केही विवाद हुनु स्वाभाविक रहेको उनको तर्क थियो । प्रतिस्पर्धाको युग आइसकेकाले पार्टीभित्र विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

Advertisement

उनले विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास निर्माणमा मिलेर सुख र समृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

पूर्वमन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई अपमान गर्नु हुँदैन भन्दै नेपालमै खाद्यान्न र आवश्यकताका वस्तुको उत्पादनतर्फ लागेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

“कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरणतर्फ लाग्ने र प्रविधिमार्फत श्रम बचाएर अन्यत्र नयाँ उत्पादनका काममा प्रयोग गर्नुपर्छ, अब ड्रोनमार्फत घरमै बसेर खेतबारीमा पानी र औषधि छर्नेतिर लाग्नुपर्छ”, उनले भने ।

उनले सबै स्थानीय तहमा शीतभण्डारको आवश्यकता औँल्याए । नेपालको रु चार हजार अर्बको समग्र उत्पादनमध्ये कृषिबाट २९ प्रतिशत मात्र भएको उनको भनाइ थियो ।

उनले भक्तपुर–पाँचखाल सुरुङमार्गको अध्ययन शुरु भएको बताए । “प्रधानमन्त्रीले पनि सुरुङ युग शुरु भइसक्यो भन्नुभएको छ, यसका लागि सम्भाव्यता अध्ययन भइरहेका छन्, मानिसले समयाभावका कारण गर्न खाजेको काम गर्न नपाउँदै मर्ने अवस्था आउँछ त्यसैले सुरुङमार्गको अवधारणा ल्याएका हौँ” उनले भने ।

उनले ठूला कुरा नगरी सुशासनलाई व्यवहार र सिद्धान्तमा देखाउनुपर्छ भन्दै काम गरेर बजेट फिर्ता नपठाउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top