१५ मंसिर, काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै केहिदिन यता देशमा गतविधि बढाएका छन् ।
राजसंस्था पक्षधरहरुले देशका मुख्य शहरहरुमा बाइक र्याली निकालिरहेका छन् । विराटनगर, पोखरा, धनगढी, मकवानपुर, बुटबलमा यसअघि पनि प्रदर्शन भएको थियो । सोमबार मात्रै पनि काठमाडौंको माइतिघरमा राजसंस्था समर्थकहरुले प्रदर्शन गरे । सत्तारुढ नेकपाभित्रै विवाद चर्किरहेका बेला राजावादीहरुको बढ्दो सक्रियता अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुर्नस्थापनाको माग राख्दै आएको छ । आइतबार मात्रैपनि राप्रपाका एक अध्यक्ष पशुपति शमशेर राणाले विज्ञप्ती जारी गर्दै राजसंस्थाको माग राखेका छन् । विज्ञप्तीमा उनले राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु सबैको कर्तव्य भएको बताएका छन् । तर राजसंस्था समर्थकहरुको सक्रियता र गतिविधिमा उदार रहेको सरकारले आइतबार भने त्यस्ता गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले राजावादीहरुको प्रदर्शनतर्फ संकेत गर्दै प्रतिक्रियावादी र पुर्नउत्थानवादीहरुका गतिविधिमा सहभागी नहुन अपिल गरे ।
राजावादीहरुको बढ्दो सक्रियताकाबीच सरकारले त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेको भोलीपल्टै आज सोमबार काठमाडौंमा राजसंस्थाको समर्थन गर्दै प्रदर्शन भयो । सत्तारुढ दल नेकपा नै कुर्सीको भागबन्डामा लिप्त रहेको बेला व्यवस्था परिवर्तनको माग गर्दै लगातार हुने गतिविधिका विरुद्धमा सरकारले कदम चाल्छ कि चाल्दैन ?