उखुको भुक्तानी नपाएपछि उखु किसानहरुद्वारा काठमाडौंमा प्रदर्शन

२८ मंसिर, काठमाडौं । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन शुरु गरेका छन् ।

Advertisement

चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् ।

पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् ।

Advertisement

उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोकिने बताए ।

Advertisement

संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्व सम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफुहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताए ।

मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगी बिच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।

यस अघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए ।

किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगी बिच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यस पटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् ।

उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top