सन्तोष साह मास्टरसेफको फाइनलमा आज प्रतिस्पर्धा गर्दै

२९ मंसिर ७७, मंगलबार

३० मंसिर (बीबीसी) ।
उत्कृष्ट नेपाली परिकारमार्फत निर्णायकहरुलाई आश्चर्यमा पार्दै आएका हाल लन्डनमा बस्ने नेपालका शेफ सन्तोष साह मास्टरसेफको अन्तिम हप्तासम्म पुगेका छन् ।

Advertisement

गत हप्ताको सेम फाइनलमा उनले बनाएको नेपाली परिकार, यमरीले सेलिब्रेटी सेफ एन्ड्रयु वङको मन जितेको थियो । सन्तोषको खानाबाट निर्णायकहरू यति धेरै प्रभावित भएका हुन् कि उनीहरुले उनको परिकारलाई त्यस दिनको सबैभन्दा उत्कृष्ट खाना बताउँदै उनलाई सीधै फाइनल राउन्डमा पठाएका हुन् ।

यस्तै आज मंगलबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिड्नेछन् ।

Advertisement

यसमा अझै दुई राउन्डसम्म सहभागीहरूको रचनात्मक क्षमता, गति, कलनरी क्षमताको मूल्यांकन हुनेछ र यसै बिहीबार लाखौँ दर्शकहरुका सामु अन्तिम विजेता घोषित गरिनेछ ।

यसबारेमा सन्तोषले बीबीसीसँग भनेका छन्, “म सधैँ नेपाली परिकारलाई विश्व स्टेजमा ल्याउन चाहान्थेँ र यो कार्यक्रमले मलाई यसका लागि निकै राम्रो अवसर दिएको छ ।”

Advertisement

त्यस्तै सन्तोषको लोकप्रियता नेपालभरि सेलिब्रेटी समान बढ्दै गएको पनि बीबीसीले चर्चा गरेको छ । मास्टरसेफमा कला र शीपका साथै मानसिक रुपमा पनि बलियो हुनुपर्ने सन्तोष बताउँछन् ।

त्यसैले आफूले हरेक परिकारलाई अगाडि नै बारम्बार अभ्यास गर्ने गरेको उनले बताए । उनले भनेका छन्, “साथै क्यामरा र जजहरुबाट आउने दबाब पनि उत्तिकै चुनौतीमय हुन्छ । प्रत्येक राउन्डमा सेफहरु आउट हुँदैजाँदा अहिले प्रतिस्पर्धा झन् कठिन बन्दै गएको छ । ”

सिराहाको करजन्हा गाउँमा जन्मिएका सन्तोष सात छोराछोरीमध्येका सबैभन्दा कान्छा हुन् । उनी पाँच वर्षको हुँदा बुवाको मृत्यु भएपछि १० वर्षको उमेरदेखि नै आफ्नो खर्च निकाल्न प्लास्टिकका झोला लगायत सरसामग्रीहरु मेलामा बेच्ने गर्दथे ।

उनले भनेका छन्, “त्यतिबेला म मेरा साथीहरुसँग पाउरोटी किन्न सात किलोमिटरसम्म हिँड्ने गर्दथेँ र पछि हामीले त्यसलाई मेलामा बेच्ने गर्दथ्यौँ ।” उनले कक्षा दशसम्म पढे पनि एसएलसी पास गर्न नसकेको बताए ।

उनी भन्छन्, “त्यसपछि म गाउँकै साथीहरुसँग जागिरको खोजीमा भारतको गुजरात गएँ ।” तर सधैँ नयाँ कुरा सिक्न इच्छुक उनको स्वभावका कारण पहिले भाँडा माझ्ने काम गरेका सन्तोषले विस्तारै इङलिस सिके र होटल म्यानेजमेन्टमा डिप्लोमा हासिल गरे ।

त्यसपछिको सातवर्षमै उनी फाइभ स्टार होटलमा कार्यकारी सेफका रुपमा काम गर्न सुरु गरिसकेका थिए । यसरी २०१० मा उनको क्षमताबाट प्रभावित भएर एक गुजराती व्यवसायीले उनलाई लन्डनका कामको प्रस्ताव गरे ।

तर यो उनको वास्तविक सपना नभएकाले उनले त्यहाँको काम केही समयपछि नै छाडेर अन्तै सुरु गरे । सन्तोष भन्छन्, “मलाई जोखिम लिन मन पर्छ ।” एकपटक उनले राम्रो पारिश्रमिकयुक्त सेलिब्रेटी सेफको फ्रेन्च रेस्टुरेन्टको काम पनि छाडेका थिए जसलाई सम्झदै उनले भने, “त्यो मेरा लागि नयाँ कुरा सिक्न राम्रो अनुभव थियो तर म फेरि इन्डियन रेस्टुरेन्टमै फर्किएँ ।”

अहिले उनी ‘सिनेमन कलेक्सन’ मा हेड शेफका रुपमा कार्यरत् छन् भने ‘सेफ्रोन सर्कल’ युकेमा पनि कार्यकारी सेफका रुपमा काम गरिरहेका छन् । विश्वभरका ‘फुड–लभर’ हरुका लागि आफूले अहिले जसरी नै उत्कृष्ट नेपाली परिकारहरु बनाइरहने उनले बताएका छन् ।

सन्तोष अहिले बेलायतका नेपाली समुदाय माझ पनि चर्चित छन् । यसैगरी उनले अर्को वर्ष विहे गर्ने योजना रहेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top