२ पुष, विराटनगर । आज बिहिबार बीबीसी मास्टरसेफ प्रोफेस्नल्स २०२० को ग्राण्ड फिनालेपछि च्याम्पियन घोषणा हुँदैछ ।
यो च्याम्पियन यस वर्ष हामी नेपालीका लागि पनि विशेष छ । हरेक चरणमा जोखिम मोलेर नेपाली परिकार पस्किँदै २९ जनालाई पछि पारेका नेपाली सेफ सन्तोष साह पनि च्याम्पियन बन्ने दौडमा छन् । बाँकी रहेका २ जना प्रतियोगीलाई हराउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारी इतिहास रच्ने दाउमा सन्तोष छन् । र यो इतिहास बनाउने दौडमा उनका पछाडि नेपाली खाना, यसको स्वाद र उनको पाक कला रहेको छ । नेपालमा अझै पनि अपहेलना नै गरिने खानालाई पाक कलाको भरपुर प्रयोग गरि सन्तोष हरेक शृखंलामा निर्णायकहरुको प्रशंसाको पात्र बनिरहेकै छन् । तर पनि निकै टफ मानिने सो प्रतियोगिताको फाइनल झनै टफ हुनेछ, जसका लागि सन्तोष नेपाली परिकार नै पस्किन तयार छन् । यसअघिका चरणको प्रस्तुतीलाई आधार मान्दा नेपाली खानाका परिकारलाई विश्वमाझ चर्चित गराउने ध्येयका साथ मैदान उत्रिएका सन्तोषले फाइनलमा पनि उत्तिकै जोखिम मोल्दै नेपाली हात र नेपालीलाई विजयी बनाउने आशा गर्न सकिन्छ । बुधबार अन्तिम ३ मा छनौट हुँदै गर्दा आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा सन्तोषले आमालाई सम्झिए । गुजारा चलाउनकै लागि उनि १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएरै सन्तोषले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भए । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए । तयार गरेको खाना बाल्यकालमा आमाले जस्तै अतिथि सेफ र निर्णायकहरुलाई पनि उनले टिफिन बक्समै सर्भ गरे । त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । यसरी नेपाली माटो र पहिचानलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गरिरहेका सन्तोष साहलाई सफलताको शुभकामना ।