मोडर्ना खोपले पायो अमेरिकामा आपत्कालीन प्रयोगको अनुमति

४ पुस, एजेन्सी ।
अमेरिकाले मोडर्नाको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

Advertisement

अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको कोरोना खोपको आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।

बिहीबार मोडर्नाको कोरोना खोप प्रयोगका लागि अनुमति दिन सकिने सल्लाहकार समितिले सुझाव दिएसँगै शुक्रबार एफडीएले खोप प्रयोगका लागि अनुमति दिएको हो ।

Advertisement

‘आपत्कालीन प्रयोगको अनुमतिसँगै अमेरिकामा १८ वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरुलाई कोरोना खोप लगाउने बाटो खुलेको छ,’ एफडीएले ट्वीटमा भनेको छ ।

सीएनएनका अनुसार रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पनि अनुमति दिएपछि मात्रै मोडर्नाको कोरोना प्रयोगमा आउनेछ । सीडीसीले शनिबार वा आइतबार यस विषयमा छलफल गर्ने बताइएको छ ।

Advertisement

सीडीसीबाट अनुमति प्राप्त भएमा आउँदो हप्तादेखि अमेरिकामा मोडर्नाको कोरोना खोप प्रयोगमा आउनेछ । कोरोना महामारीका कारण सबैभन्दा पीडित अमेरिकामा मोडर्नाले बनाएको कोरोना खोप प्रयोगसँगै थप राहत मिल्ने विश्वास गरिएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार अमेरिकामा अहिलेसम्म ३ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोफलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

स्वास्थ्य सचिव एलेक्स अजरलाई उद्धृत गर्दै सीएनएनले आउँदो हप्तासम्म मोर्डनाले ५९ लाख डोज कोरोना खोप उपलब्ध गराउने समाचारमा उल्लेख गरेको छ ।

त्यस्तै फाइजरले पनि आउँदो हप्तासम्म थप २० लाख डोज खोप उपलब्ध गराउनेछ । अमेरिकी सरकारले मोडर्नासँग २० करोड डोज कोरोना खोप किन्ने सहमति गरेको छ ।

करिब ३० हजार व्यक्तिमा परीक्षण गरिएको मोडर्नाको कोरोना खोपको प्रभावकारिता ९४.५ प्रतिशत रहेको छ । मोडर्ना खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म भण्डारण गर्न सकिन्छ ।

योभन्दा बढी समयका लागि भण्डारण गर्नुपर्दा माइनस ४ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। फाइजरको खोपको प्रभावकारिता भने ९५ प्रतिशत भए पनि यसको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top