वर्तमान सरकार अग्नि परीक्षामा ःअध्यक्ष प्रचण्ड

काठमाडौँ,  जेठ १५
विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित “संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका” विषयको एक गोष्ठीमा ती नेताले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा पनि एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामा रहेको बताए ।

Advertisement

“हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौँ,” अध्यक्ष प्रचण्डले भने – “तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह देखापर्छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्ष हामीले जित्नुपर्छ । हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी सफल हुनुपर्नेछ ।”

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सरकारमा बहुमत भए पनि देशको समृृद्धिसँगै राष्ट्रिय मुद्दामा कम्युनिष्ट र काँग्रेस मिल्नुको विकल्प नहुने बताए ।

Advertisement

उनले भने – “जुन–जुन बेला कम्युनिष्ट र काँग्रेस मिलेको हुन्छ, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुःख पायो, भूकम्पपछि हामी सबै पार्टी मिल्यौँ र संविधान जारी भयो । गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्दा र हितमा हामी फेरि पनि नमिली सुखै छैन ।”

अध्यक्ष प्रचण्डले कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गरिएको बताउँदै अधिनायकवाद भन्दा पनि देशमा समृद्धि र विकासका लागि विचार मिल्नेहरु मिल्न सम्भव भएको प्रस्ट पारे ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जारी भइसकेको सन्दर्भमा भाषण भन्दा काम गरेर देखाउन वर्तमान सरकारलाई सुझाव दिए ।

सभापति देउवाले संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा दीर्घकालीन रुपमा आर्थिक संकट हुने देखिएकाले उत्पादन र आत्मनिर्भरमा जोड दिइनु पर्ने बताए ।

काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतालाई देशमा गणतन्त्र आएको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्छ भने ।

नेकपाका नेता सुभाषचन्द्र नेम्वाङले वाम गणबन्धनलाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा अब जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top