१४ पुष, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी केन्द्रमा विभाजित हुँदा प्रदेश तहमा समेत नेताहरु कित्ताकाटमा पुगिसकेका छन ।
मन्त्रीहरुले धमाधम राजीनामा दिएका छन भने सांसदहरु आआफना कित्तामा उभिसकेका छन । केन्द्रको विवाद कै कारण नेकपाकै प्रदेश सांसदहरु मुख्यमन्त्रीलाई आफैले दिएको विश्वासको मत फिर्ता लिइरहेका छन् । आफै सदस्य रहेर करिब ३ वर्ष चलाएको सरकारमाथि काम नै गर्न नसकेको लगायतका आरोपका भारी थोपरि दिएका छन । प्रदेश सरकारमा देखिएको यस्तो प्रवृत्तिले प्रदेश संरचनामै खतरा उत्पन्न हुने हो कि भन्ने त्रास पैदा भएको छ । पार्टी वैधानिक रुपमा एक रहँदा रहँदै बहुमतका बावजुत प्रदेश सरकारहरुमा देखिएको खेलले कतै संघीयतामाथि नै औला उठेको त हैन ? विनाकारण, सुनुयोजित ढंगले प्रदेश सरकारमाथिको हमलाले गम्भिर परिणाम निम्त्याउन सक्ने नेकपा कै नेताहरुले बताउने गर्छन । प्रदेश सरकारमाथिको प्रहारले प्रदेश संरचनामै खतरा उत्पन्न हुने हो कि भन्ने आशंका बढिरहेको बेला यहि आशंकालाई पुष्टि गर्दै मुख्यमन्त्री स्वयंमले प्रदेश सरकारमाथिको प्रहारले प्रदेश संरचना नै नरहने अवस्था आउनसक्ने औँल्याएका छन् ।
प्रदेश सरकार ढाल्न सुनुयोजित ढंगले गरिएको यस्तो कदमले अराजकता निम्त्याउने, देशलाई अन्धकारतर्फ धकेल्ने मुख्यमन्त्री शेरधन राईको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचनको घोषणा गरेका छन् । जनादेशको सामना गर्न नसक्नेहरुले निर्वाचनको विरोध गरिरहेको आरोप प्रधानमन्त्री ओलीबाट लागिरहेको छ । संसद विघटनको विरोध गर्दै अधिकांश राजनीतिक दलहरु सडक संघर्षमा होमिएका पनि छन् । तर निर्वाचनको विरोध गर्नेहरुले निर्वाचनलाई स्वीकार नगरेर प्रतिगामीहरुलाई सघाउन खोजेको मुख्यमन्त्री राईको टिप्पणी छ । राजनीतिक स्थितरताका लागि निर्वाचनमा होमिन लागेको बेला निर्वाचनको विरोध गरेर केन्द्रसहित प्रदेश तहमा समेत अस्थिरता फैलाउँदै प्रतिगामीहरुको गतिविधिमा बल पुर्याउन चलखेल गरेको मुख्यमन्त्रीको आरोप छ ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रको सर्वोत्तम विकल्प रोज्दापनि सातै प्रदेशमा सरकारहरुमाथि आक्रमण गर्न खोजिएको भन्दै मुख्यमन्त्री राईले प्रदेश संरचनाहरुलाई ध्वस्त बनाउने नियत हो ? भनि प्रश्न गरेका छन् । अराजकता चाहनेहरुले प्रदेश सरकारमाथि सूनुयोजित प्रहार गरेको उनको दाबी छ । केन्द्रका केहि नेताहरुको व्यक्तिगत स्वार्थलाई बोक्दै प्रदेशमाथि हमला गर्नु प्रदेश सिध्याउने खेल भएको उनको टिप्पणी छ । पछिल्लो समय नेकपा विवादका कारण, नेपालले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धी माथि नै खतरा उत्पन्न भएको छ । प्रदेश संरचना नै नरहने अवस्था आउने भन्दै प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक रुपमा बताइरहँदा जनताको वर्षौंको संघर्ष यहि अवस्थाका लागि थियो त ? भन्ने प्रश्न उठेको छ ।