अपराधीको निसानामा बालबालिका

२१ पुस ७७, मंगलबार

काठमाडाैं : धनुषाको विदेह नगरपालिका–२ दुहबीकी रामपुकारी रायको जीवनमा पुस १६ गते राति बज्रपात आइलाग्यो। पाँच वर्षीय छोरा अभिनन्दन छिमेकीको भैंसीगोठमा गाडिएको अवस्थामा मृत फेला परे। आफन्त प्रमिलादेवी राय अमातले रकम लेनदेनलाई रिसइबी बनाएर अभिनन्दनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्यो।

Advertisement

महोत्तरीको बर्दिबासकी ३० वर्षीया सबिना खातुनकी ६ वर्षीया छोरी गुलाब्साको मंसिर ७ गते बलात्कारपछि हत्या भयो। अघिल्लो दिनदेखि बेपत्ता गुलाब्साको शव नजिकै बाँसघारीमा बोरामा फालिएको अवस्थामा फेला परेको थियो। गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न समितिसमेत बनाएको थियो। प्रहरीले उक्त घटनामा संलग्न भएको अरोपमा महोत्तरीकै गौशाला–५ का २६ वर्षीय अरुण साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।

धनुषाको मिथिला नगरपालिका–६ का शम्भुकमार साहका अढाई वर्षीय छोरा आर्यनको २४ वैशाख ०७६ मा अपहरणपछि हत्या भयो। प्रहरीले उक्त घटनामा संलग्न अभियुक्तलाई एक महिनापछि पक्राउ गर्‍यो। अन्धविश्वासका कारण देवीदेवताको नाममा स्थानीय शत्रुघन महतोले बालकको हत्या गरेको प्रहरी अनुसन्धानले देखायो।

Advertisement

यी त प्रतिनिधि घटना मात्रै हुन्। यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन्। ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top