नागढुंगा–सिस्नेखोला सुरुङ : अवरोध भइरहे समयमै बनाउन गाह्रो

२१ पुस ७७, मंगलबार

काठमाडौँ: नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले आफूहरूका माग पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका जनप्रतिनिधिले यसमा कुनै राजनीतिक स्वार्थ नरहेको दाबी गरेका छन् । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष गोपी सुर्खेतीले स्थानीयका जायज माग सम्बोधन गराउन आयोजनालाई ज्ञापनपत्र बुझाए पनि यसमा आफूहरूको राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् ।

Advertisement

अध्यक्ष सुर्खेतीले सोमबार जारी गरेको विज्ञप्तिमा आइतबार कान्तिपुरमा प्रकाशित समाचारमा राजनीतिक विषय उठान गरी नेकपाका नेता पुष्पकमल दाहाल–माधव नेपाल पक्षबाट विरोध भएको भन्ने विषय गलत रहेको उल्लेख गरेका छन् । ‘स्थानीयका जायज माग सम्बोधन गराउन शान्तिपूर्ण विरोधसहित आयोजना पक्षलाई ज्ञापन बुझाइएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर राजनीतिक कुरा उठाएर अपव्याख्या गरिएको छ, जुन कुरा गलत छ ।’

आयोजना निर्माण सुरु हुनुअघिदेखि नै प्रभावित क्षेत्रका स्थानीयले माग राख्दै आएको उनको दाबी छ । स्थानीयका माग सम्बोधन गराउन नागढुंगा सुरुङमार्ग प्रभावित सरोकार समन्वय समिति चन्द्रागिरि–२ गठन गरिएको छ । उक्त समितिले आयोजना पक्षसँग पटकपटक छलफल गर्दा पनि समस्यामाथि ठोस समाधान ननिकालेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

वडाध्यक्ष सुर्खेतीको नेतृत्वमा गएको टोलीले आइतबार ज्ञापनपत्र बुझाउँदै आफूहरूका माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको थियो । आयोजना शिलान्यास भएको १४ महिनापछि उक्त वडाका स्थानीयले बुँदागत रूपमा माग राख्दै पूरा गर्न दबाब दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा सुरुङमार्गको शिलान्यास गरेका हुन् । अहिले धादिङतर्फ सुरुङ खन्ने काम जारी छ । काठमाडौंतर्फ सुरुङ खन्न पोर्टल बनाउने काम भइरहेको छ । स्थानीयले पूरा गर्नै नसकिने माग राखेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा बताउँछन् । ‘निर्माण सुरु भएपछि पूरै गर्न नसकिने माग राखिएका छन्, सबै माग सम्बोधन गर्न सकिँदैन,’ उनले भने, ‘आयोजनामा अवरोध भइरहे समयमै निर्माण सक्न गाह्रो पर्छ ।’

Advertisement

एउटा समूहले पूरा गर्न नसकिने माग राखेर राजनीतिक रूप दिन खोजे पनि सरोकार समितिले समस्या समाधान गरेर अघि बढ्न तयार रहेको जानकारी गराएको आयोजनाले जनाएको छ । निर्माण रोक्ने चेतावनी दिनु गलत भएको भन्दै यसको सर्वत्र विरोध भएको छ । पूर्वाधारविज्ञले पनि विकास निर्माणमा कसैको अवरोध सह्य नहुने टिप्पणी गरेका छन् ।

सुझबुझ भएका राजनीतिक दलबाट विकासमा राजनीति नहुने पूर्वसचिव तुलसी सिटौलाको तर्क छ । ‘अन्य देशमा विकासमा सबैको एकमत हुन्छ । किनकि विकास सबै दललाई चाहिन्छ,’ उनले भने, ‘तर हाम्रो बिडम्बना, विकासमा राजनीति गर्छौं, कसले शिलान्यास गर्‍यो, कसले उद्घाटन गर्‍यो भन्ने कुरामा अलमलिरहेका हुन्छौं ।’

विरोधका लागि विरोध गर्ने प्रवृत्ति एकदमै गलत भएको सिटौलाको टिप्पणी छ । ‘विकासका काममा अवरोध घटिया काम हो, एउटा राजनीतिक दल, व्यक्ति, समाज कसैले पनि यस्तो काम गर्नहुन्न,’ उनले भने, चिनिएका नेता एवं जनप्रतिनिधिले जनचेतना जगाएर विकासमा बाधा नगर भन्नुपर्नेमा आफैं विरोधमा उत्रनु बिडम्बना हो, यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ ।’ निर्माणमा अवरोध गरिरहे कतिपय ठाउँमा निर्माण व्यवसायीले सरकारसँग क्षतिपूर्ति मागेर लग्ने तर जनता विकासबाट पछि परिरहने उनको भनाइ छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top