प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने

प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने

२१ पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो ।

अनेरास्ववियुले पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरुमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ ।

पौष २२ गते उपत्यकामा लाल्टिन जुलुश निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताए ।

त्यसैगरी, पौष २५ गते सडक बहस कार्यक्रम गर्ने, पौष २६ गते बयलगाढा प्रदर्शन गर्ने, पौष २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पौष २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पौष २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसदबाट सर्वसम्मतरुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामाग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताए ।

उनले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परिक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताए ।

सह–संयोजक तामाङले प्रतिनिधि सभा पुर्नस्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताए । माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.