२६ पुस, लन्डन ।
केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्महत्या गरेका छन्। शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए।
उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको शव शनिबार मात्रै फेला परेको थियो।
आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ।
पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए। केही वर्षअघि नेपाल फर्किएका उनीपछि फेरि बेलायत आएका हुन्।
लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले यहाँको निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए। बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए।
