पर्वत : पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा–बेनी सडकखण्ड र कालीगण्डकी किनारलगायतका क्षेत्रमा बहुमूल्य सार्वजनिक जमिन अतिक्रमण गरी व्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो ।
गाउँपालिकाले समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । मालढुंगा–बेनी सडकखण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणले लामो समयदेखि गुनासो गर्दै आएका थिए । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौं’, सामाजिक विकास अधिकृत सुवेदीले भन्नुभयो– ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौं।’
जलजला गाउँपालिका–२, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।,यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।