एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके द नेदरल्यान्ड्समा पक्राउ

११ माघ, एजेन्सी ।
द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

Advertisement

चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई द कम्पनीका प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ।

संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो।

Advertisement

अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) देशमा भित्रिने कुल लागुऔषधिमध्ये करिब ७० प्रतिशत साम गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने विश्वास गर्छ।

छपन्न वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागुऔषध कारोबारी ह्वाकिन एल च्यापो गुज्मानसँग तुलना गरिएको छ। एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए।

Advertisement

उनको नाम उल्लेख नगरिएको एउटा वक्तव्यमा प्रहरीले ती सन्दिग्धविरुद्ध सन् २०१९ मा एउटा पक्राउपुर्जी जारी भएको जनाएको छ। त्यसमा डच प्रहरीले इन्टरपोलको सूचनामा काम गरिरहेको उल्लेख छ।

डच प्रहरी प्रवक्ताले भने, उनी पहिलेदेखि नै अधिक खोजी गरिएका व्यक्तिको सूचीमा थिए र हामीले गोप्य सूचना पाएका आधारमा उनलाई पक्राउ गर्‍यौँ।

सन् २०१९ मा समाचारसंस्था रोएटर्सले सोबारे एउटा विशेष अनुसन्धान सामग्री प्रकाशित गरेको थियो। त्यसमा उनलाई एशियाका सबैभन्दा बढी खोजी गरिएका व्यक्ति भनेर उल्लेख गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै रोएटर्सले सोको समूहले मेट्याम्फेटमिन विक्रीबाट मात्र सन् २०१८ मा १७ अर्ब डलरभन्दा बढी रकम आम्दानी गरेको अनुमान गरेको थियो।

सोको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका करिब २० वटा निकायले सहकार्य गरेको रोएटर्सले जनाएको छ। उनको खोजी र पक्राउ गर्ने अभियानलाई अपरेशन कुङ्गुर भनिएको थियो।

पछिल्ला वर्षहरूमा उनी मकाउ, हङ्‌कङ र ताइवानमा लुकिरहेको चर्चा चलेको थियो। लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए।

अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको पक्राउलाई दुई दशकमा देशको प्रहरीले हासिल गरेको एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top