१४ माघ, रुपन्देही ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाभित्र निर्माण सम्पन्न ३ ठूला पुल बुधवार एकै दिन उद्घाटन गरेका छन्। उनले तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुल अर्थमन्त्री पौडेलले उद्घाटन गरेका हुन्।
बुधवार बिहान तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, नयाँगाउँस्थित दानव नदीमा रहेको पुल र देवीनगरस्थित तिनाउ पुल उद्घाटन भएको हो ।
तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण सुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो । डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इ. कृष्ण कुँवरका अनुसार १८० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको पुलको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।
त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाइ रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो । २०७२ असार ३० मा निर्माण सुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।
त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण सुरु भएको यो पुल २०७६ भदौ ३० गते मात्र सम्पन्न भएको हो । स्थानीयको विवादका कारण लामो समय अलपत्र परेको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाइ रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।