१६ माघ, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै २ हत्याकाण्डमा संलग्न ४ फरार अभियुक्तहरूलाई पक्राउपछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पत्रकार सम्मेलन मार्फत एक महिना अगाडी सम्पत्ति हडप्ने षडयन्त्रका साथ बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरी २१ वर्षीय अकलेश राउत यादवको हत्यामा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेका हुन् । घाटी डोरीले कसेर हत्या गरेको अवस्थामा अकलेशको शव बरामद भएको थियो ।
हत्यामा संलग्न पर्सागढी नगरपालिका वडा नं ५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, सोही ठाउका ४१ वर्षीय शेष ताहिर मिया, सोही ठाउकै २७ वर्षीय छठु भन्ने दिनेश पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकको नातामा फुपाजु पर्ने भागरित राउत अहिरले सम्पत्तिको लागि ताहिर र दिनेशको सहयोगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ९ वर्षीय राजन पटेलको हत्यामा संलग्न रहेका पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं १४ राधे माई बस्ने १९ वर्षीय रेयन महतो कम्करलाई हत्या घटनाको साँढे ५ वर्षपछि पक्राउ गरिएको पाण्डेले जानकारी दिए ।
कम्करले नाबालक राजनको हत्या गरी वीरगञ्ज महानगरपालिका वडा नं १४ स्थित चिनी मिल आवास क्षेत्रभित्र रहेको जमेको पानीमा शव फालेका थिए । लुकीछिपी बस्दै आएका कम्करलाई साँढे ५ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
