गोल्डेन अस्पतालमा उपचार गराउन आएका विरामी नै २ महिनादेखि बन्धक

२२ जेठ ७५, मंगलबार
Share this
808shares

विराटनगर,जेठ २२
विराटनगरको एक निजी अस्पतालले उपचार गरे बापतको पैसा नतिरेको भन्दै एक जना बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ ।

Advertisement

ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखिरहेको हो ।

बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासंग हारगुहार गर्न थालेपछि घटनाको रहस्य खुलेको हो । गत फागुन २६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका लिम्बूको टाउकोमा चोट लागेको थियो । छोरा सुरेनका अनुसार लडेर घाइते भएपछि उपचारका लागि फागुन २७ गते गोल्डेनमा ल्याइएको थियो ।

Advertisement

उपचार ठीक भए पनि परिवारका सदस्यले लामो समयदेखि कूलबहादुरलाई घर लैजान पाइरहेका छैनन् । गोल्डेनमा भर्ना गरेपछि चिकित्सकले मस्तिष्कमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको सुरेनले बताए ।

शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैयाँ जम्मा गर्न भनेको थियो । उक्त रकम जम्मा गरिदिएपछि त्यही दिन राति कूलबहादुरको शल्यक्रिया भएको थियो । शल्यक्रिया गरेर आईसियूमा राखिएका कूलबहादुरलाई त्यसको एक सातापछि जनरल वार्डको २५ नम्बर बेडमा सारिएको र त्यसको अर्को सातापछि नै ठीक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको सुरेनको भनाइ छ ।

Advertisement

लिम्बू परिवारले सुरुमा जम्मा गरेको एक लाख १० हजार रुपैयाँ बाहेक उपचारमा सरकारले दिएको सहुलियत बापतको एक लाख रुपैयाँ पनि अस्पतालले पाउने छ ।

अस्पतालले लिम्बू परिवारलाई दिएको जानकारी अनुसार परिवारले जम्मा गरेको एक लाख १० हजार र सरकारबाट सहुलियत पाएको एक लाख बाहेक नै कूलबहादुरको उपचार गरे बापत अझै दुई लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

सुरेनले पैसा नतिरे सम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पतालको तल्लो तलामा पनि झर्न नदिइकन बन्धक बनाइएको गुनासो गरे ।

बन्धक बनाइएका बिरामीका बारेमा बुझ्न सोमबार अस्पतालमै पुगेका उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले अस्पतालले बिरामीलाई बन्धक बनाएर पैसा असुल्ने योजना बनाएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top