१८ माघ, एजेन्सी ।
संयुक्त अरब इमिरेट्स (युएई)ले प्रतिभावान विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।
कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।
युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका प्रतिभावान व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ ।
उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् । यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् ।
अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् । युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन ।
युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।
