उद्यमी बन्न चाहनेलाई सहुलियत कर्जा

१८ माघ ७७, सोमबार

१९ माघ, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अगाडि सारेको बताएका छन् ।

Advertisement

काठमाडौँमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैङ्क, विशाल फाउन्डेसन र युनिग्लोब कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोभिड–१९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सिर्जना गर्न सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अगाडि सारेको जानकारी दिए ।

आर्थिक समृद्धिका लागि युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको चर्चा गर्दै त्यसका लागि युवामा सोच, सङ्कल्प, निरन्तरता र व्यावसायिक रणनीति हुनुपर्ने धारणा व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरको उपयोग गर्न आग्रह गरे ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । उद्यमी बन्न चाहने युवाले डब्लूडब्लूडब्लू डट स्टार्टअपआइडियाकल डट ओआरजी वेबसाइटमार्फत नवप्रवद्र्धन प्रस्ताव पठाउन सक्नेछन् ।

Advertisement

उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैङ्कमार्फत बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ ।

कार्यक्रमका विभिन्न सेसनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासङ्घका अध्यक्ष रीता सिंह, बिजनेस अक्सिजनका अध्यक्ष सिद्धान्तराज पाण्डे, सुबिसु केबलनेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ मानन्धर, युनिग्लोब कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट, प्राडा राधेश्याम प्रधानलगायतले युवा उद्यमशीलताका चुनौती र अवसरबारे मन्तव्य राखे ।

विशाल फाउन्डेसनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफ्नो इनोभेटिभ आइडिया पठाउने युवालाई निःशुल्क तालिम र सहुलियत कर्जा प्रदान गर्ने बताए ।

सरकार, वित्तीय संस्था र निजी क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैङ्क र विशाल फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रमको प्रवद्र्धनका लागि युनिग्लोब कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।(गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top