१९ माघ, काठमाडाैँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् ।
चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भएभने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ ।
समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको बिरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाई छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धी पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको बैधानिकता, कानुनी पक्ष, औचित्य र सान्र्दभिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाई छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए ।
पूर्व सभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटन भन्दा अर्को नभएको जिकिर गरे । प्रधानमन्त्री ओलीले शासकिय दम्भ देखाएको उनको भनाई छ । संसद पुर्नस्थापना गर्नु आवश्यक रहेको उनको भनाई छ ।
बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए । प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उनको भनाई छ । प्रधानमन्त्री ओलीसँग आफुबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि बताए।
कार्यक्रममा बोल्दै सबै बक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुर्नस्थापनामा जोड दिएका थिए ।