३० माघ, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो ।
विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन कदमको विरोध गरेका हुन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवी एकै ठाउँमा आउनुपर्ने बताए । उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए । उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले नागरिकले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल, मर्म, स्वतन्त्रता र नागरिक अधिकार सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताए ।

डा. केसीले प्रतिनिधि सभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने धारणा राखे ।