पुनर्निर्मित सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

पुनर्निर्मित सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

३ फागुन, काठमाडौँ । पुनर्निर्माण भएको सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले सोमवार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमवारदेखि अब सिंहदरबारबाटै सञ्चालन हुनेछ । सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सारिएको हो ।

झण्डै ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएपछि २०७२ साल वैशाख १२ गतेपछि देशको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड २०३० सालको आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । यसको २०३७ सालमा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा १९६० सालमा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.