एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

७ फागुन, वागमती ।

Advertisement

एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए।

प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

Advertisement

प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो । रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो ।

Advertisement

अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो ।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गरेका छन्।

स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आउनुभएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top