अडियो चिप्लिँदा प्रदेश प्रमुखको पद चैट् !

अडियो चिप्लिँदा प्रदेश प्रमुखको पद चैट् !

७ फागुन, काठमाडाैँ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेसँगै त्यसको कारणबारे चर्चा भइरहेको छ । अकस्मात, के कारणले पदमुक्त गरियो भन्ने नखुलाइएकाले त्यसको कारणहरु अनुमान भइरहेका छन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । तर प्रदेश प्रमुख परियारलाई किन पदमुक्त गरियो भने खुलाइएको छैन ।

यता परियारलाई नेकपाको किचलोका कारण हटाइएको हुनसक्ने कारणबारे चर्चा भइरहेको छ । कुनै आशंका र पूर्वानुमान बिना पदमुक्त भएका परियारले नै आफूलाई राजनीतिक प्रतिशोध साध्न हटाइएको हुनसक्ने बताएका छन् । शेरबहादुर देउवाको सरकार हटेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए । त्यतिबेला पूर्वएमाले र पूर्वमाओवादी निकटहरूलाई भागबण्डा गरिएको थियो । त्यतीबेलै पूर्वमाओवादी कोटाबाट परियार प्रदेश प्रमुखमा नियुक्त गरिएका थिए । यस्तै, दलित भएकै कारण पदमुक्त गरिएको हुनसक्ने समेत परियारले प्रतिक्रिया दिएका छन् ।

यस्तै केही दिनअघि परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच भएको वादविवादको अडियो प्रकरणका कारण परियारको पद गएको हुनसक्ने बारे समेत चर्चा चलिरहेको छ । भट्टराई प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र मानिन्छन् । रेलवे सञ्चालनका बारेमा जानकारी लिनेक्रममा भट्टराई र पासवानबीच विवाद भएको थियो । यो वादविवादमा राजनीतिक घोचपेचदेखि अपहरण गर्नेसम्मको विषय उठेको थियो । अडियो सार्वजनिक भएसँगै प्रदेश प्रमुख पदमुक्त हुनुमा त्यही अडियो प्रकरण नै कारक हुनसक्ने बारे समेत चर्चा भइरहेको छ ।

प्रदेश प्रमुख पदमुक्त भएसँगै अन्ततः नेकपाको दुई समूहको टकराबले प्रदेश सरकार ढाल्ने मात्र होइन प्रदेश प्रमुख हटाउनेसम्मको परिणाम दिन थालेको छ । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोमा विरोध जनाएको छ भने दाहाल नेपनाल समूहले प्रदेश प्रमुख परिवर्तन गर्नु अराजनीतिक चरित्र भएको टिप्पणी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.