सार्वजनिक यातायातको भाडा दरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

सार्वजनिक यातायातको भाडा दरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौँ: सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, ‘गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन । हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निगमले चलाएको पेट्रोलियम पदार्थको स्वचालित मूल्यसूचीजस्तै यातायातको भाडादरलाई पनि सोही प्रणालीमा राखियो भने कसैलाई अप्ठ्यारो हँुदैन, सिस्टमले काम गर्छ ।’

सार्वजनिक यातायातको भाडादर अटो मोसनमा सञ्चालन गरिए धेरै कुराको सुधार हुने व्यवसायीको दाबी छ । यात्रुले अनलाइनमै भाडादर हेर्न सक्नुका साथै त्यसबाट नठगिने पनि व्यवसायीले दाबी गरेका छन् ।

भाडा वृद्धिका लागि सरकारसँग सधैँ माग गरिहनुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउँदै व्यवसायीले सरकार, व्यवसायी र यात्रु कोही पनि समस्यामा पर्न नपर्ने गरी संरचना निर्माण गर्दा दीर्घकालीन रूपमा समस्याको समाधान हुने बताइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.