१ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, सांगठनिक पुनःसंरचनालगायत विषयमा छलफल चलिरहेको छ । बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो ।
तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सँगै, पार्टी एकता पनि बैठकको एजेण्डामा राखिएको छ । बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ ।
संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।