५ चैत, काठमाडौं । आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) लागि काठमाडौं रेजर्सले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गर्दा विराटनगर सिटीले मार्की खेलाडी र धनगढी फुटबल क्लबले प्रशिक्षक घोषणा गरेका छन् ।
काठमाडौंमा बिहीबार भएका छुट्टाछुट्टै कार्यक्रममा विभिन्न शहरको प्रतिनिधित्व गर्ने क्लबले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेका हुन् । काठमाडौं रेजर्सले राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गर्दा नेपाललाई साफ च्याम्पियनसिपमा स्वर्ण पदक दिलाएका बाल गोपाल महर्जनलाई प्रशिक्षकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै टोलीका मार्की खेलाडी विकेश र प्रशिक्षक बालगोपाल महर्जनले टोली राम्रो बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए । आजै विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर सञ्जीत धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी दियो । यस्तै धनगढी एफसीले बिहीबार आफ्ना प्रशिक्षकका रूपमा नाइजेरियाली तोपे फुजालाई नियुक्त गरेको घोषणा गर्यो । मनाङ मस्र्याङ्दीले २०७५ मा सहिद स्मारक लिग ए डिभिजन जिताउन भूमिका खेलेका फुजालाई नियुक्त गरेको हो । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले नियुक्त गरेको फुजाले सन् २००५ बाट आफ्नो प्रशिक्षण खेल जीवन सुरु गरेका थिए । धनगढीले यसअघि आप्mनो मार्की खेलाडीका रूपमा विशाल राईलाई नियुक्त गरिसकेको छ । चितवनले पनि मेघराज केसीलाई प्रशिक्षकको रुपमा सार्वजनिक गर्दा स्ट्राइकर भरत खवासलाई मार्की खेलाडी घोषणा गरेको छ ।
यस सँगै प्रतिस्पर्धा गर्ने ७ टोली मध्ये पाँच टोलीले मार्की खेलाडी सर्वाजनिक गरेका छन् । बुटवल र पोखराले सार्वजनिक गर्न बाँकी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।