१८ चैत्र, हेटौंडा ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन बागमती प्रदेशसभा सचिवालयमा निवेदन दर्ता भएको छ ।
मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता गराएका हुन् ।
संसद सचिवालयमा दर्ता भएको निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने ३ जना सदस्यहरुको निवेदन आज सचिवालयमा दर्ता हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।
खड्काका अनुसार नेकपा माओवादी केन्द्रले भने अविश्वास प्रस्ताव फिर्ताबारे आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन ।
मंगलबार दर्ता भएको अविश्वास प्रस्ताव फिर्ताबारेको निवेदनमा पनि एमालेका प्रदेशसभा सदस्यहरुले मात्र हस्ताक्षर गरेको उनले बताए ।
सचिवालयमा दर्ता भएको निवेदन कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि पठाइने र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार थव प्रकृया अगाडी बढ्ने सचिव खड्काले बताए ।
गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।
गत माघ ९ गते संसदमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल भए लगतै स्थगित भएको प्रदेशसभा बैठक २ पटक बोलाइयो तर बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । त्यस यता प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्न सकेको छैन ।
प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।