२४ चैत्र, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ।
योसंगै पुटिन सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् ।
पहिलेको संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो ।
तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो ।
संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।
नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो ।
पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए । चार–चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्रपति बनाउँदै २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए ।
सन् २०१२ मा उनी पुनः राष्ट्रपतिका रुपमा रुसमा सत्तासिन भए भने २०१८ को चुनावमा जित पनि हात पारे । तर चुनावमा धाँधली भएको र विपक्षीको आवाज दबाउने काम गरेको आरोप भने पुटिनमाथि निरन्तर लाग्दै आएको छ ।
यदि पुटिन थप दुई कार्यकालका निर्वाचित भए रुसको सबैभन्दा बढी लामो समय शासन गर्ने नेता बन्नेछन् । यसअघि जोसेफ स्टालिनले २९ वर्ष रुसमा शासन गरेका थिए ।
सन् २००० मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिनले राजीनामा दिएपछि पुटिन रुसका शक्तिशाली नेताका रुपमा रहेका छन् ।
दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने तत्कालीन संवैधानिक व्यवस्थाबमोजिम सन् २००८ मा मेडभेडेभलाई सत्ता हस्तान्तरण गरे पनि प्रधानमन्त्रीका रुपमा मुलुकमा शासन गरेको पुटिनमाथि आरोप लाग्दै आएको छ ।