१२ बैशाख, सिमकोट । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ ।
हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ ।