सरकारले रकम नदिएको भन्दै कोरोना बिमा दावी भुक्तानी रोकियो

१३ वैशाख, काठमाडौँ । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् ।

Advertisement

सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् ।

उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द गरेको सार्वजनिक सूचना नै निकालेको छ । तर सरकारबाट भुक्तानी आएपछि भने नियमित रुपमा सहज तरिकाले भुक्तानी हुने कम्पनीले बताएको छ ।

Advertisement

‘नेपाल इन्स्योरेन्सले सूचना निकाल्यो, हामीले चाहिँ रोकेको सूचना निकालेका छैनौँ’ एक बिमा कम्पनीका सीईओ भन्छन्, ‘अब सरकारले नै पैसा नदिए पछि हामीले दिन सक्ने कुरै भएन, हामीले दिनु पर्ने दिइसक्यौं ।’ उनका अनुसार यस विषयमा नियामक निकाय बिमा समितिमार्फत समस्या समाधानका लागि आग्रह समेत गरिसकिएको छ ।

कोरोना बिमा पोलिसी जारी गरेपछि धेरै नेपालीहरुमा संक्रमण देखिएको थियो । १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बिमा गर्न पाइने यो पोलिसी धेरै संक्रमित भएको भन्दै कम्पनीहरुको आग्रहमा बिमा समितिले गत वर्ष बन्द गरिदिएको थियो । तर सरकारले पनि व्ययभार खेप्ने भएपनि पुनः सुचारु भएको थियो ।

Advertisement

सरकार र कम्पनीहरुबीच भएको सहमति अनुसार १ अर्ब रुपैयाँसम्मको भुक्तानी बिमा कम्पनीले नै व्यहोर्ने त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बिमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो ।

बिमा कम्पनीहरु तथा रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने भुक्तानी दिइसकेका छन् । नियामक निकाय बिमा समितिले समेत दिनु पर्ने १ अर्ब भुक्तानी भइसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारले दिने भुक्तानीको प्रक्रिया पनि शुरु भइसकेको र चाँडै दिइने उनले बताए ।

‘बिमा कम्पनीहरुले नदिएको होइन दिइरहेका छन्, सरकारबाट आउनु पर्ने जुन आएन भनिएको छ त्यो पनि चाँडै आइहाल्छ,’ उनले भने, ‘यसमा डराउनु पर्ने कुरा छैन, भुक्तानी हुन्छ हुन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top