१३ बैशाख, काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ’थ्री बी’ जलविद्युत् आयोजनाको काम फेरि सुरु भएको छ ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो हप्ता आफ्नो घर गएका चिनियाँ कामदार कोरोना महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्णरूपमा काम भइरहेको आयोजनाको निर्माण झण्डै १४ महिना ठप्प प्रायः थियो ।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत् गृह लगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् ।
‘नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारी कोभिड–१९ का कारण फर्कन नसक्दा झण्डै १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उनले भने, ‘चीनसँगका भन्सार नाकाहरू अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन, यसबाट धेरै प्रयास गरी फेरि निर्माण सुरु गरिएको आयोजनाको काम प्रभावित हुने देखिएको छ ।’
चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे ।
यो समाचार आजको उज्यालो खबरमा छ ।