१९ बैशाख, काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले ओसासुनामाथि २–० को जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियलले २ गोल गर्न सफल भयो ।
७६औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए ।
जितपछि दोस्रो स्थानमा रहेको रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ । पराजित ओसासुना ४० अंक जोडेर ११औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा शीर्षस्थानको एट्लेटिको म्याड्रिडले पनि साँघुरो जित निकालेको छ ।
एट्लेटिकोले इल्चेलाई १–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोले ३४ खेलमा ७६ अंक जोडेको छ । रियल एट्लेटिको भन्दा २ अंकले पछि छ । पराजित इल्चे ३० अंक जोडेर १८ औं स्थानमा छ ।