२९ बैशाख, काठमाडौँ । स्पेनिस ला लिगामा उपाधि दाबेदार टोली बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न पुगेको हो ।
खेलको २५औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोेब्बर पारे ।
त्यसपछि ५७ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २–१को स्थितीमा ल्याए । त्यसको दुई मिनेटमै जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए ।
६४औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२को अग्रता दिलाए । तर, ८३औं मिनेटमा लेभान्टेका सेर्जियो लिओनले गोल गर्दै बार्सिलोनासँग अंक खोस्न सफल भए ।
यो बराबरीसँगै बार्सिलोनालाई उपाधि होडमा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंक जोडेर शीर्षस्थानमा छ । लेभान्टे ४० अंकसहित १३औं स्थानमा छ ।