२५ जेठ, काठमाडौँ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् ।
अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने पहिलो अर्थमन्त्री भने तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा हुन् ।
उनले २०७४÷७५ को बजेट वक्तव्यको बुँदा १२१ मा कोटेश्वर–सूर्य विनायकमा सुरुङमार्ग बनाउने घोषणा गरेका थिए । उक्त बजेटमा यो सुरुङमार्ग पर्यटन पूर्वाधारमा राखिएको भए पनि त्यस यताका बजेटमा भने यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुङमार्ग योजनामा राखिँदै आएको छ ।
हालसम्मका पाँचओटा बजेट वक्तव्यमा प्राथमिकताका साथ प्रवेश पाएको यो खण्डको सुरुङमार्ग काठमाडौंको कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न निर्माण गरिने भएको हो ।
तर, हालसम्म पनि सुरुङमार्गसहित बन्ने भनिएका अन्डरपास वे, प्mलाइओभर बनाउन न विस्तृत अध्ययन छ न त विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै तयार पार्न पहल भएको छ ।
डीपीआर नबने पनि अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत उक्त खण्डमा सुरुङमार्ग बनाउन रू. १ अर्ब ८० करोड बजेट विनियोजन गरेका छन् । चालू आवमा नै सुरुङमार्ग निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ ।
सडक विभागले हालै उक्त खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई विस्तृत अध्ययन गर्न पत्राचार गरेको छ ।