२९ जेठ, एजेन्सी ।
१६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो ।
रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए ।
यस्तै, ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।
यस जितसँगै समूह ए को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ । टर्की पुछारमा रहेको छ ।